06/10/2025
नेपालको न्यायपालिका राजनीतिक प्रभाव, व्यक्तिगत स्वार्थ तथा गुप्त हस्तक्षेपबाट पूर्ण रूपमा स्वतन्त्र हुनु आजको अनिवार्य आवश्यकता हो। न्यायाधीश नियुक्ति प्रक्रिया योग्यता, पारदर्शिता र उच्च नैतिक मापदण्डका आधारमा स्थापित हुनुपर्छ—कुनै पनि राजनीतिक सिफारिस, पहुँच वा व्यक्तिगत सम्बन्धको प्रभाव बिना न्यायाधीश नियुक्ति हुनुपर्छ। प्रत्येक न्यायाधीशले आफ्नो सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने व्यवस्था संस्थागत गर्न जरुरी छ र यदि अवैध सम्पत्ति वा अनियमित आचरण प्रमाणित भएमा तत्क्षण राज्यद्वारा अवैध सम्पत्ति जफत र सम्बन्धित न्यायाधीशको पदमुक्ति सुनिश्चित हुनुपर्छ।
न्याय प्रदान गर्ने व्यक्ति स्वयं कानूनी सिद्धान्त र नैतिकताको सर्वोच्च मापदण्डमा उत्रिनु नै न्यायपालिकाको गरिमा र विश्वसनीयताको आधार हो। पारदर्शिता र जवाफदेहिता बिना न्यायिक प्रणालीप्रति जनविश्वास कायम रहन सक्दैन। त्यसैले अबको न्यायिक सुधारको मूल उद्देश्य स्पष्ट र दृढ हुनुपर्छ — न्याय निष्पक्ष, पारदर्शी, छिटो र सबैका लागि समान हुनुपर्छ !