28/09/2026
नेपाल संवत् ११४६ २०८३ असोज १२ गते
प्रेस विज्ञप्ती
नेपालका पूर्व प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.लाई सुरक्षा चुनौती भन्दै मिति २०८३ असोज १० गते मध्यरातमा गरिएको रहस्यमय र संदेहात्मक सुरक्षा नियन्त्रणप्रति नेबाएको गम्भीर ध्यानाकर्षण भएको छ । जो सुकै नागरिक उपर पर्याप्त आधार र कारण बिना नियन्त्रणमा लिइनु र छाडिनु मौजुदा संविधान, कानूनको शासन र लोकतान्त्रिक शासन प्रणाली विपरित रहेको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिनुले घटनाको गाम्भीर्यता बढाएको छ। यसले सरकार स्वेच्छाचारी र अनुदारवादतर्फ ढल्कीरहेको स्पष्ट छ ।
न्यायपालिकामा हुने सबै प्रकारका विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध न्यायिक सुशासनको पक्षमा निरन्तर आवाज उठाईरहेको नेपाल बार एशोसिएशन कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा रहन सक्दैन । न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ । सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्व पदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रता विरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एशोसिएशन प्रतिवाद गर्दछ ।
विगत केही समयदेखि घटेका बिचार र अभिब्यक्ति स्वतन्त्रता विरुद्धका गैरसंवैधानिक घटनाहरुको नेपाल बार एशोसिएशन विरोध गर्दछ । आधार, कारण र प्रमाण बिना कुनै पनि नागरिकलाइ अनाहकमा पक्राउ गर्ने लगायतका अन्य कार्यहरु नगर्न, नगराउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदछौं । न्यायलयलाई दबाव, अभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको नेपाल बार एशोसिएशन डटेर सामना गर्दछ ।
साथै सेवानिवृत्त प्रधान न्यायाधीश वा न्यायाधीश वा कसैले बिचाराधीन मुद्दामामिलामा कुनै प्रकारको हस्तक्षेप, चासो, सरोकार वा छलफल कुनै पनि माध्यमले कुनै पनि स्थानमा हुन नसक्ने कानूनी र आचारसंहिताको व्यवस्था र पालनाका लागि समेत सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।
संवैधानिक बेञ्च वरिष्ठता वा गोलाबाट गठन गर्ने व्यवस्था अविलम्ब गर्न सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष पुनः आग्रह गर्दछौ । न्यायपालिकाको स्वच्छता र शुद्धताको लागि चालिने हरेक कदममा यस एशोसिएशनको साथ र सहयोग रहनेछ ।
वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला
महासचिव