30/01/2026
१९९७ साल माघ १० गते शुक्रराज शास्त्रीले वर्त लिएका थिए। घरबाट दूध पठाईएको थियो। रोटी पकाउन मात्र के लागेका थिए, खान नदिई बोलावट आयो। पचली पुर्याइयो। अन्तिम इच्छाअनुसार उनलाई बागमतीमा नुहाउन र गीता पाठ गर्न दिईयो र पचली चौबाटोमा फाँसीमा झुण्डिने इच्छाअनुसार नरशमशेर समेतको रोहवरमा डोरीमा पासो लगाई टेकेको ढुङ्गा स्वयं पन्छाए र राती १२ बजे शहादत प्राप्त गरे। ११ गते बिहान उनका पिता ८५ वर्षका गेरुवा वस्त्र धारी माधवराज त्यहाँ पुगी " श्वावास बेटा तुमने कमाल कर दिया। तुम धन्य हो। तुमने मा बाप कि हि नहि देशका ही गौरव बढाया है। बेटा होना तो ऐसा ही होना" भनि लासलाई नमस्कार गर्दै तीन पटक प्रदक्षिणा गरेर फर्के।
धर्मभक्तलाई १९९७ साल माघ १३ गते राती १० बजे सिफल लगियो। खरीको रूखमा पहिलो पटक झुण्डाईयो। हागा लच्कियो र खुट्टाले जमिन टेक्यो। दोस्रो पटक डोरी नै चुडियो र फुकाउन नरशमशेरले चक्कुले रेट्दा धर्मभक्तको गाला र गर्दनको छाला चिरियो। धर्मभक्तले लात्ताले हान्दा नरशमशेर ५/७ हात पर हुत्तिए। त्यसपछि धर्मभक्त बेहोस नहुन्जेल पिटियो र बेहोस धर्मभक्तलाई झुण्डाईयो। राती १२ बजे शहादत प्राप्त गरे।
दशरथ चन्द र गंगालाललाई गोली खाई मर्ने इच्छा जाहेर गरे। माघ १५ गते राती १० बजे दुवैलाई प्याफल हुँदै विष्णुमती पुर्याईयो। गंगालालले नरशमशेरलाई नुहाई पाठ गर्ने इच्छा व्यक्त गरे भने दशरथ चन्दले "मेरो इच्छा तैँले पुर्याउन सक्दछस?? भन्ने प्रश्न गर्दे " राणाशासन खतम भएको हेर्ने इच्छा छ " भने । आक्रोशित भई नरशमशेरले बाध्ने आदेश दिए। गंगालाल ननुहाई फर्के। दशरथ चन्द लाई उत्तरतर्फ र गंगालाललाई पश्चिम तर्फ फर्काएर बाँधियो र गंगालाललाई फेरि माफी माग्न नरशमशेरले फकाउदा उनले भने "मैले माफी माग्नु पर्ने काम के नै गरेको छु र फेरि तं जस्तो कसाई जस्तो मानिससित किन माफी माग्छु। बरू तैँले तिमीहरूले गरेको अत्याचारका लागी हामीसँग माफी माग " भने। अत्यन्त अमानुषिक तवरबाट दशरथ चन्द र गंगालाललाई पहिलो गोली घुँडामा र दोस्रो गोली तिघ्रामा हाने पछि दशरथ चन्द जस्तो लौहपुरूष पनि पीडाले छट्पटाए र यो देखेर गंगालाल चिच्चाए " सक्दछस भने तेरो बाउलाई एक गोली हानेर मार " । दशरथ चन्दले राती १:३० बजे र गंगालाले २ बजे शहादत प्राप्त गरे।
(साभार: हाम्रो कानूनी ईतिहासको नालीबेली, प्रकाश वस्ती)
आज शहिद दिवस, देश र जनताको लागि आफ्नो जीवन अर्पित गर्ने वीर शहिद सदा सर्वदा अमर रहुन।