10/02/2026
भ्यालेन्टाइन वीक: प्रेम र भावना बेच्ने ब्यापारिक कला
भ्यालेन्टाइन वीक प्रेमको उत्सव जस्तो देखिए पनि व्यवहारमा यो उपभोक्तावादको उत्सव हो। किनकी यहाँ प्रेमको नाममा, भावना बेचिन्छ। प्रेम गर्ने कि नगर्ने भन्ने निर्णयभन्दा पनि “किन्ने कि नकिन्ने” भन्ने दबाब सिर्जना गरिन्छ। विशेषगरी युवापुस्तामा प्रेम प्रमाणित गर्न खर्च गर्नैपर्छ भन्ने गलत धारणा रोपिन्छ।
प्रेम कुनै मिति, ब्रान्ड वा अफरमा सीमित हुँदैन। प्रेम त निरन्तर अनुभूति हो—आदर, भरोसा, साथ र जिम्मेवारीको । यदि प्रेम एक दिनमै प्रमाणित गर्नुपर्छ भने बाँकी ३६४ दिनको व्यवहारको अर्थ के रह्यो? तर आज कुनै चुस्त दिमागवाल ब्यापारीले शुरुआत गरेको भ्यालेन्टाइन संस्कृतिले प्रेमलाई प्रदर्शन मा रूपान्तरण र भौतिक बस्तुको खरिद बिक्रि सँग जोडेको छ । युवाहरु बिच कसले कति महँगो उपहार दियो, कसले कति “पोस्ट” गर्यो भन्ने जस्ता बेतुकका प्रतिस्पर्धा श्रृजना गरेको छ । मनबाट गरिन मायाँ वा प्रेम नभई झिलझिले कागजले बेरिएको उपहारमा प्रेम शव्दलाई बेरेर सिमित पारिदिएको छ
भ्यालेन्टाइन वीक ब्यापारीका लागि उत्सव अनि धेरैका लागि दबाब हो । खुरापाती दिमागवाला ब्यापारीले भ्यालेन्टाइन डे अथवा सप्ताहका बारेमा युवा कती सम्म प्रभाव पारेका छन् भने जो प्रेम सम्बन्धमा छैनन्, उनीहरू पछाडि परेको र जोसँग साधन छैन, उनीहरू हीनभावनामा परेको अनुभुती गर्न वाध्य छन् । विशुद्ध ब्यापारिक उत्सव भ्यालेन्टाइन वीकले प्रेमलाई निजी अनुभूति होइन, सार्वजनिक मान्यतामा मापन गरि दिएको छ । अजी आत्म सम्मान भन्दा बढी सोसल मिडिया स्वीकृति लाई महत्त्व दिन सिकाएको छ ।
प्रेम केवल रोमान्टिक सम्बन्ध मात्र होइन। न त यो केवल चकलेट, रोज अथवा टेडी बियरमा सिमित छ । आमा–बुबाप्रतिको सम्मान, साथीप्रतिको इमानदारी, समाजप्रतिको जिम्मेवारी—यी सबै प्रेमकै रूप हुन् । तर भ्यालेन्टाइन वीकले प्रेमलाई सीमित अर्थमा बाँधिदिएको छ। त्यसैले अब सबै सचेत हुनै पर्ने भएको छ, किनकी साँचो प्रेम: महँगो उपहारमा होइन, कठिन समयमा साथ दिनुमा हुन्छ, एक दिनको पोस्टमा होइन, दैनिक व्यवहारमा देखिन्छ र बजारको निर्देशनमा होइन, आत्मिक समझदारीर आपसी विश्वासमा बाँच्दछ । त्यसैले प्रेमको उत्सवभन्दा बढी व्यवसायिक रणनीति बनेको भ्यालेन्टाइन वीक यथार्तको मनन गरि प्रेमलाई व्यापारबाट मुक्त गरेर, पुनः मानवीय र जीवन्त अनुभूतिमा फर्काउन आवश्यक छ। किनकी प्रेम एक दिन वा हप्ताको कार्यक्रम नभई, जीवनभरको व्यवहार हो ।