28/12/2025
काठमाण्डौ जिल्ला अदालतको मिति 2082-09-13 गते को सूचना ॥
काठमाण्डौं जिल्ला अदालतले मिति २०८२ भाद्र २३ र २४ गते भएको आगजनी तथा तोडफोडको घटनाका कारण क्षति पुगेका वा नष्ट भएका चालु मुद्दाका मिसिलहरू पुनः प्राप्ति तथा पुनर्निर्माण गर्ने सम्बन्धमा यो सूचना प्रकाशित गरेको हो।
सम्मानित सर्वोच्च अदालतबाट स्वीकृत “विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८१” बमोजिम नष्ट भएका मिसिलहरूको सूची अदालतको सूचना पाटी तथा वेबसाइटमा प्रकाशन गरिएको छ।
उक्त सूचीमा परेका मुद्दाका वादी, प्रतिवादी तथा सरोकारवाला पक्षहरूलाई अदालत वा सम्बन्धित सरकारी निकायबाट प्राप्त सक्कल वा प्रमाणित प्रतिलिपि कागजातहरू सहित अदालतमा उपस्थित भई मिसिल पुनः प्राप्ति प्रक्रियामा सहयोग गर्न भनिएको छ।
यस प्रयोजनका लागि पहिला तोकिएको समयावधि समाप्तभइसकेकाले मिति २०८२/८/२९ गतेदेखि पुनः ३० दिनको समयावधि थप गरिएको जानकारी गराइएको छ। सो अवधिभित्र आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
पेश गर्नुपर्ने कागजातहरूमा फिरादपत्र, प्रतिउत्तरपत्र, बयान, बकपत्र, तारेख पर्ची, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अदालतका आदेश तथा अन्य सम्बन्धित प्रमाणहरू समावेश छन्।
➡️ तोकिएको समयभित्र कागजात पेश नगरेमा मिसिल पुनः प्राप्ति प्रक्रियामा कठिनाइ हुन सक्ने भएकाले सम्बन्धित सबै पक्षले समयमै सहयोग गर्न अनुरोध गरिएको छ।